नियम १९
समितिको बैठक
: (१) समितिको बैठक अध्यक्षको निर्देशनमा सचिवले बोलाउनेछ ।

(२) समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, स्थान र समयमा बस्नेछ ।

तर दुई बैठकबीचको अवधि पैंतालीस दिनभन्दा बढी हुनु हुँदैन ।

(३): बैठकको अध्यक्षता समितिको अध्यक्षले, निज उपस्थित नभएमा उपाध्यक्षले र निजसमेत उपस्थित नभएमा सञ्चालकहरूमध्येबाट चुनिएको सदस्यले गर्नेछ ।

(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रीय विषयगत सहकारी सङ्घ र राष्ट्रिय सहकारी महासंङ्घको दुई बैठकबीचको अवधि तीन महिनासम्म हुन सक्नेछ ।

(५) उपनियम (२) र (४) को अवधिभित्र बैठक नबोलाइएमा बहुमत सदस्यले हस्ताक्षर गरी बैठक बोलाउन अध्यक्ष समक्ष लिखित अनुरोध गर्न सक्नेछन्‌ र त्यस्तो अनुरोध प्राप्त भएमा अध्यक्षले सात दिनभित्र बैठक बोलाउनु पर्नेछ ।

(६) उपनियम (५) बमोजिम बैठक नबोलाइएको अवस्थामा बहुमत सञ्चालक सदस्यहरू उपस्थित भई सञ्चालक समितिको बैठक बोलाउन सक्नेछन्‌ ।

(७) उपनियम (६) बमोजिम बोलाइएको बैठकको अध्यक्षता उपस्थित सञ्चालकहरूमध्येबाट चुनिएको सञ्चालकले गर्नेछ ।

(८) समितिको बैठकको निर्णय अध्यक्षता गर्ने व्यक्तिका साथै बहुमत सञ्चालकबाट प्रमाणित गर्नु पर्नेछ ।

(९) समितिको बैठकको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको क्‌ल सदस्य सङ्ख्याको बहुमत सदस्य सङ्ख्या हुनेछ ।